नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)को संयुक्त बैठक बुधबार काठमाडौंमा बस्ने भएको छ । बैठकमा शून्य लागतमा कामदार पठाउने यसअघिको श्रम सम्झौताको कार्यान्वयन, यूएई जाने नेपाली कामदारको न्यूनतम तलब, उनीहरूको सीप तालिमलगायतका विषयमा छलफल हुने बताइएको छ ।
यूएई प्रतिनिधिमण्डलले घरेलु कामदारको विषयलाई यसपटक पनि गम्भीरताका साथ उठाउने जानकारी गराएको मन्त्रालय स्रोतले बताएको छ । यूएईले आफ्नो मुलुकमा पूर्ण सुरक्षा रहेको दाबी गर्दै यसअघिका बैठकमा पनि घरेलु कामदारको विषयलाई टुंगोमा पुर्याउन आग्रह गर्दै आएको थियो । तर यसपटकको बैठकमा भने घरेलु कामदार पठाउने विषयमा मिति नै तोक्नुपर्ने पक्षमा यूएई रहेको बताइएको छ ।
नेपालले २०७३ सालमा तत्कालीन श्रम तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले खाडी मुलुकमा श्रम सम्झौता नभएसम्म घरेलु कामदार पठाउन रोक लगाएको थियोे । त्यसबेलादेखि नै यूएईले घरेलु कामदारको विषयमा जोड दिँदै आएको छ ।