काठमाडौं : वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) गएका एक नेपाली कामदारले ७१ करोड ७७ लाख रुपैयाँ बराबरको चिठ्ठा जितेका छन् । पदम नामका नेपाली कामदार यूएईमा ड्राइभर पेशामा रहेका छन् । उनको नेपाली ठेगाना भने खुलाइएको छैन ।
महजुजको १२४औं संस्करणको पहिलो पुरस्कार भएपनि पदमले जितेको सन् २०२३ को पहिलो पुरस्कार हो । विगत २३ वर्षदेखि यूएईमा रोजगारी गर्दै आएका पदमले मासिक ५ हजार ७ सय दिराम (२ लाख ५ हजार रुपैयाँ) कमाउँदै आएका छन् । उनले आपत विपदमा परेका नेपालीलाई सहयोग गर्दै आएका थिए ।
पटकपटक चिठ्ठा खरिद गर्दै आएका उनले एक पटक ३० र एक पटक ३ सय ५० दिराम जितेका थिए । ४ डिजिटको चिठ्ठामा उनले एउटा नम्बर छोरी र श्रीमतीलाई रोज्न लगाएका थिए भने बाँकी तीनवटा नम्बर आफैं छनोट गरेका थिए ।
उनले उक्त रकमले आफ्नो परिवारलाई यूएईमा सेटलमेन्ट गर्ने बताएको खालिज टाइम्सले उल्लेख गरेको छ । सोही संस्करणको एक मिलियन दिरामको पुरस्कार निजी अस्पतालमा रेडियोग्राफरको रोजगारीमा रहेका फिलिपिनी कामदारले जितेका छन् ।