काठमाडौं : ताजा जनादेशका आधारमा सरकार निर्माण गरेर स्वदेशमा नै रोजगारी सिर्जना गर्ने प्रमुख दलहरूले निर्वाचनको घोषणापत्रमा उल्लेख गरेपनि वैदेशिक रोजगारीमा जाने नेपाली युवायुवतीको बाध्यतामा परिवर्तन देखिएको छैन ।
देशमा भर्खरै ठूला चाढवाढ सकिएको र आम निर्वाचनको माहोलमा भएपनि युवायुवतीको वैदेशिक रोजगारीमा जाने क्रम विगत वर्ष र महिनामा जस्तै अहिले पनि देखिएको छ । ठूलो चाढ दशैं परेको असोज महिनामा भदौ महिनाको तुलनामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा केही कमी आएपनि उल्लेख्य कमी आएको देखिँदैन ।
असोजमा ८१ हजार ४४६ नेपाली वैदेशिक रोजगारमा गएकोमा ३७ हजार ४ सय १२ जना म्यानपावर कम्पनीमार्फत र ४४ हजार ३४ जना पुनः श्रम स्वीकृति लिएर गएका छन् । भदौमा ७६ हजार ४ सय ३ जना वैदेशिक रोजगारीमा गएका थिए । यसले वैदेशिक रोजगार नै नेपालमा रहेकोे बेरोजगारको अल्पकालीन विकल्पका रुपमा देखिएको छ।
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार असोजमा २७ हजार ६२ जना मलेसिया गएका छन् । त्यसमा संस्थागत अर्थात म्यानपावर कम्पनीबाट जानेको संख्या २४ हजार ४ सय ८१ जना रहेको छ । कतारमा ९ हजार ८ सय ४५ जना गएका छन् । त्यसमा म्यानपावरमार्फत जानेको संख्या ३ हजार ८ सय ४९ जना रहेको छ ।
यस्तै यूएईमा ७ हजार ८ सय ४५जना गएका छन् । त्यसमा म्यानपावर कम्पनीबाट जानेको संख्या २ हजार १ सय ५४ जना रहेको छ । साउदी अरेबियामा ६ हजार ५ सय ३६ जना गएका छन् । त्यसमा म्यानपावरमार्फत जानेको संख्या २ हजार ६ सय ८५ जना रहेको छ । त्यस्तै कुवेतमा ३ हजार ४ सय ९७ जना गएकोमा म्यानपावर कम्पनीमार्फत २ हजार २ सय ८६ जना, बहराइनमा २ सय ७० जना, क्रोएसियामा १ सय ४५ जना, साइप्रसमा ३ सय २ जना र जापानमा ७५ जना गएका छन् । यी मुलुक नेपाली कामदारका परम्परागत प्रमुख रोजगार गन्तव्य हुन् ।