काठमाडौं – वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको इजरायलले कृषि क्षेत्रमा नेपाली कामदार लैजाने चासो देखाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल र नेपालका लागि इजरायलका राजदूत हनान गोदरबीच भएको भेटमा कृषि क्षेत्रमा नेपाली कामदार लैजाने विषयमा छलफल भएको हो ।
मंगलबार मन्त्रालयमा भएको भेटका क्रममा राजदूत गोदरले कृषि क्षेत्रमा आप्रवासी कामदारको माग उच्च रहेकाले नेपालबाट लैजाने सम्बन्धमा कुराकानी गरेको मन्त्रालयका उपसचिव एवं सहायक प्रवक्ता कविराज उप्रेतीले बताए ।
उनका अनुसार इजरायलले यसअघि नै कृषि क्षेत्रमा एक हजार नेपाली कामदार लैजान सकिने जानकारी दिएपछि आवश्यक तयारीका लागि सुझाव तथा अध्ययन टोली गठन गरी काम गरिरहेको छ । यद्यपि, यस विषयमा थप छलफल भएको बताइएको छ ।
यस्तै मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै राजदूत गोदरसँगको भेटमा सचिव अर्यालले इजरायलमा रहेका नेपाली कामदारहरुको बारेमा पनि जानकारी लिएको जनाएको छ ।
साथै, इजरायलका विभिन्न स्याहार केन्द्रका लागि सहायक कामदार (केयर गिभर)का रुपमा छनोट भई रोजगारीको लागि प्रस्थान हुन बाँकी रहेका कामदारहरुलाई प्रस्थानको सहजीकरण गरिदिन सचिव अर्यालले आग्रह गरेको उल्लेख छ ।
इजरायलले केयर गिभर, कृषि क्षेत्र मात्र नभएर स्वास्थ्य जनशक्ति र निर्माण क्षेत्रमा पनि नेपाली कामदार लैजान नेपाल सरकारसँग विभिन्न चरणमा कुराकानी भइरहेको मन्त्रालयले जनाएको छ ।
हाल रोजगारीका लागि छनोटमा परेका एक हजारभन्दा बढी नेपाली इजरायल पुगिसकेका छन् भने ६४ जनाको भिसा प्रक्रियामा रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
पहिलो चरणमा छनोट भएका सबै कामदार इजरायल पुगेपछि दोस्रो चरणमा ५०० जना नेपालीलाई केयर गिभरमा लैजान तयार रहेको विभागले उल्लेख गरेको छ ।