काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काउन्सिलर श्रम तथा श्रम सहचारी छनोटको नतिजा सार्वजनिक गरेकोे छ । मन्त्रालयले गत साउन २० गते काउन्सिलर श्रम तथा श्रम सहचारीहरुको छनोट तथा सिफारिसका लागि आवेदन गर्न मन्त्रालय माताहतका योग्य कर्मचारीका लागि सूचना प्रकाशित गरेको थियो।
मन्त्रालयले प्राप्त आवेदनमा काउन्सिलर श्रम तथा श्रम सहचारी छनोट तथा नियुक्तिसम्बन्धी कार्यविधि तथा मापदण्ड २०७३ अनुसार गठित सिफारिस समितिको नतिजाअनुसार शुक्रबार सचिवस्तरीय निर्णय गरी नतिजा सार्वजनिक गरेको बताएको छ ।
सार्वजनिक नतिजाअनुसार श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा कार्यरत निर्देशक भोलानाथ गुरागाईं, मन्त्रालयमा कार्यरत चन्द्रकला चौलागाईं ओली र टिकामणि नेउपाने काउन्सिलर श्रममा सिफारिस भएका छन् । सो पदका आकांक्षी मन्त्रालयका उपसतिव डा. थानेश्वर भुसाल प्रतीक्षा सूची अर्थात वैकल्पिकमा परेका छन् । सिफारिस भएकाहरुको पोष्टिङ भने गरिएको छैन ।
त्यसैगरी श्रम सहचारी पदमा विभागमा कार्यरत शाखा अधिकृत ताम्राराज काफ्ले, मन्त्रालयमा कार्यरत शाखा अधिकृतहरु दिलिप खड्का, गोविन्द प्रसाद आचार्य र वैदेशिक रोजगार कार्यालय ताहाचलमा कार्यरत आविद अन्सारी छनोट भएका छन् । मन्त्रालयमा कार्यरत शिला थपलिया (पाण्डे) सो समूहमा वैकल्पिक सूचीमा रहेकी छन् । उनीहरूलाई पनि पोष्टिङ गरिएको छैन ।
काउन्सिलर श्रम र श्रम सहचारीमा आवेदन गर्न अंग्रेजी भाषाको टोफेल र आईईएलटीएसमा न्यूनतम ५ अंक र पीटीई परीक्षामा ३५ अंक ल्याउनुपर्ने मापदण्ड व्यवस्था गरिएको छ ।
यसअघि अंक नतोकिएको अंग्रेजी भाषा सिकेको प्रमाणपत्र ल्याई सचिव वा शक्तिकेन्द्र रिझाउने कर्मचारी काउन्सिलर श्रम र श्रम सहचारी बन्ने प्रवृत्ति थियो । छनोट नहुने कतिपय आकांक्षीले पक्षपात र लेनदेन भएको भन्दै अख्तियार तथा राष्ट्रिय सतर्कता केन्द्रमा उजुरीसमेत दिने गरेका थिए ।
अंग्रेजी भाषा कमजोर भएकै कारण कतिपय श्रम सहचारी र काउन्सिलर श्रमले सामान्य पत्राचार र श्रम गन्तव्य मुलुकमा कामदारलाई परेको समस्या समाधानका लागि त्यहाँका सरकारी निकायसँग प्रष्टरुपमा आफ्नो तर्फबाट भनाइ राख्न नसक्ने अवस्था रहेको थियो।
हाल योग्यताका दृष्टिकोणले सक्षम भएपनि कतिपय श्रम सहचारी वैदेशिक रोजगारीमा रहेका कामदारहरुले दूतावासमा गुनासो लिएर आउँदा नसुन्ने र रोजगारदाता वा रोजगारदाताका तर्फबाट नेपालका म्यानपावर कम्पनीले ल्याएका मागपत्र प्रमाणीकरण गर्न अनुचित मोलमोलाई गर्ने गुनासो भने नहटेको वैदेशिक रोजगार व्यवसायीहरुको गुनासो छ ।
हाल कतार, साउदी अरब, यूएई, मलेसिया, दक्षिण कोरियामा काउन्सिलर श्रम र श्रम सहचारी दुबै दरवन्दी छ भने कुवेत र ओमानका लागि श्रम सहचारीको मात्रै दरवन्दी रहेको छ । त्यसमध्ये कतारमा काउन्सिलर श्रम तथा यूएईमा श्रम सहचारीको पद रिक्त रहेको छ । अन्य देशमा खटिएका काउन्सिलर श्रम तथा श्रम सहचारीहरुको पदावधि सकिन लागेको छ ।