काठमाडौं : बीमा कम्पनीहरुले वैदेशिक रोजगारीमा जाने कामदारहरुलाई एक अर्ब बढीको बीमालेख बिक्री गरेका छन् । हाल दश वटा जीवन बीमा कम्पनीले वैदेशिक रोजगारीमा जाने कामदारको म्यादी बीमा गरिरहेका छन् । वैदेशिक रोजगारीको म्यादी जीवन बीमा गर्ने कम्पनीहरुले मंसिरमा मात्रै ६५ हजार ८ सय १५ वटा वैदेशिक रोजगार बीमालेखबाट २७ करोड ५७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
यस वर्षको मंसिरसम्म जीवन बीमा कम्पनीहरुले १२ लाख ४९ हजार ७ सय ६२ वटा वैदेशिक रोजगार बीमालेखबाट १ अर्ब ४३ करोड ९४ लाख रुपैयाँ बीमा शुल्क लिएका छन् ।
यस अवधिमा सन नेपाल लाइफ कम्पनी लिमिटेडले ६ लाख ६३ हजार ८२१ वटा वैदेशिक रोजगार बीमालेखबाट ६१ करोड ६५ लाख ४४ हजार रुपैयाँ बीमा शुल्क उठाएको छ । बीमा प्राधिकरणका अनुसार दोश्रो स्थानमा रहेको सूर्या लाइफ कम्पनी लिमिटेडले १८ करोड ४२ लाख, आइएमई लाइफ कम्पनी लिमिटेडले १३ करोड १२ लाख र ज्योति लाइफ कम्पनी लिमिटेडले १२ करोड ९८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
यस अवधिमा सानिमा लाइफ कम्पनी लिमिटेडले १२ करोड ५० लाख, सिटिजन लाइफ कम्पनी लिमिटेडले १० करोड ३१ लाख, नेपाल लाइफ कम्पनी लिमिटेडले ५ करोड ९७ लाख, रिलायवल नेपाल लाइफ कम्पनी लिमिटेडले ५ करोड ७४ लाख, नेशनल लाइफ कम्पनी लिमिटेडले १ करोड ७२ लाख र प्रभु लाइफले ८७ लाख ९६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ हजार २२ वटा बीमालेखबाट ६१ लाख ८९ हजार रुपैयाँ आर्जन गरेको हो ।
वैदेशिक रोजगारीमा पहिलोपटक जाने तथा पुनः श्रम स्वीकृति लिँदा वैदेशिक रोजगार ऐन तथा वैदेशिक रोजगार नियमावलीअनुसार अनिवार्य म्यादी अर्थात् श्रम अवधि अनुसारको बीमा गर्नुपर्ने व्यवस्था छ । म्यादी जीवन बीमाबाट रोजगारका लागि गएका नेपाली कामदारको स्वास्थ्य उपचार खर्च, शारीरिक क्षतिको उपचार खर्च, मृत्यु भएको खण्डमा किरिया खर्चका साथै मृत्युु भएमा आश्रित परिवारले दश लाख क्षतिपूर्ति सुविधा पाउने व्यवस्था छ ।
वैदेशिक रोजगारका लागि विदेशबाट श्रम स्वीकृति लिँदा म्यादी बीमा शुल्क अनलाइनमार्फत तिर्न मिल्ने सुविधाको शुरुवात भएसँगै विदेशमा रहेका श्रमिकले पनि स्वयं श्रम स्विकृति नवीकरणका लागि बीमा गरेर निवेदन दिन मिल्ने भएको छ । अनलाइन बीमाको व्यवस्था भएका कारणले म्यादी बीमा गर्नेको संख्या बढेको आंकलन गरिएको छ ।