काठमाडौं : काठमाडौंको सिनामंगलस्थित अजित म्यानेजमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी प्रा.लि.ले आफ्नो कम्पनीबाट वैदेशिक रोजगारका क्रममा रोमानियामा मृत्यु भएका एक कामदारको आश्रित परिवारलाई पाँच लाख रूपैयाँ सहयोग गरेको छ ।
उक्त म्यानपावर कम्पनीबाट रोमानियाको एक सलाद उत्पादन कम्पनीमा काम गर्न गएका तनहुँ बन्दीपुर– ६, बाघखालका ३४ वर्षीय खोबिन्द्र गुरूङको क्यान्सर रोगका कारण उपचारको क्रममा गत माघ २४ गते रोमानियामा मृत्यु भएको थियो ।
आइतबार कम्पनीको सिनामंगलस्थित कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा नेपाल वैदेशिक रोजगार व्यवसायी संघ कार्यसमिति सदस्य समेत रहेका कम्पनी सञ्चालक सूर्यकुमार श्रेष्ठले मृतककी श्रीमती डिना गुरूङलाई चार लाख रूपैयाँको चेक हस्तान्तरण गरे ।
सात महिनाअघि रोमानिया गएका गुरूङलाई पाँच महिनाअघि ब्लड क्यान्सरको संक्रमण देखिएको थियो । उपचारका लागि त्यतिबेला नै म्यानपावर कम्पनीले एक लाख रूपैयाँ पठाइदिएको थियो ।
ब्लड क्यान्सर पीडित गुरूङको रोमानियाको सुविधा सम्पन्न अस्पतालमा उपचार गरिएपनि बचाउन नसकिएको सञ्चालक श्रेष्ठले मध्यान्हलाई जानकारी दिए । मृतक गुरूङका श्रीमती, एक छोरी र एक छोरा छन् । त्यसमध्ये छोरी मुटुको बिरामी छिन् । उनको बाँसबारीस्थित गंगालाल हृदय केन्द्रमा उपचार भइरहेको छ ।
करिब तीस वर्षदेखि सम्पर्कविहीन भएका स्वर्गीय गुरूङका बुबालाई करिब एक महिनाअघि एक गैरसरकारी संस्थाले उद्धार गरी परिवारको सम्पर्कमा ल्याइदिएको थियो । दुई सन्तान र रोगी अवस्थामा रहेका ससुराको पालन पोषण तथा रेखदेखको जिम्मा पनि डिना गुरूङको काँधमा रहेको छ ।
कार्यक्रममा गुरूङको निधनले अजित म्यानेजमेन्टले एक सहयोगी गुमाएको बताउँदै सञ्चालक श्रेष्ठले वैदेशिक रोजगार बोर्ड, बीमा कम्पनी र रोमानियास्थित रोजगारदाता कम्पनीसँग मृतक परिवारले पाउने सेवा सुविधा तथा बालबालिकाको अध्ययनका लागि छात्रवृत्तिसहित गुरूङका परिवारका एक सदस्यलाई रोमानियामा रोजगारी दिलाउन उच्च प्राथमिकतामा राखी सकेसम्म पहल गर्ने बताए ।
रोमानियाको उक्त सलाद कम्पनीमा करिब डेढ दर्जन नेपाली कार्यरत छन् । सञ्चालक श्रेष्ठले उनीहरूले संकलन गरी पठाएको २ लाख ७३ हजार रूपैयाँ पनि श्रीमती डिना गुरूङलाई हस्तान्तरण गरिएको जानकारी दिए ।
मृतकका दाजु कमल गुरूङले उपचारका क्रममा र मृत्युपछि अजित म्यानपावर कम्पनीले गरेको सहयोग र देखाएको सद्भावप्रति आभार प्रकट गर्दै मृतकका आश्रित बालकको उचित शिक्षा दिक्षाको विषयलाई परिवारले गम्भीररूपमा लिएको बताए । उनले छात्रवृत्ति र कम्पनीको तर्फबाट पनि क्षतिपूर्तिका लागि तत्परताका साथ लागिदिन आग्रह गरे ।
सहयोग हस्तान्तरण कार्यक्रममा भारतस्थित रोमानियाको कम्पनी प्रतिनिधि चिन्न माया सिँहको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा स्वर्गीय गुरूङको मृत आत्माको चीरशान्तिको कामना गर्दै दीप प्रज्वलनका साथ एक मिनेट मौन धारण गरिएको थियो ।