काठमाडौं : वैदेशिक रोजगार विभागले अभिमुखीकरण तालिम सञ्चालन गर्ने संस्थाहरुले पटकपटक आग्रह गर्दा पनि तालिम सञ्चालन कार्यविधि अनुसार काम नगरेको बताएको छ ।
विभागले वैदेशिक रोजगार नियमावली २०६४ अनुसार वैदेशिक रोजगारमा जाने कामदारले अनिवार्यरुपमा अभिमुखीकरण तालिम लिनुपर्ने व्यवस्था भए बमोजिम विभागबाट विभिन्न तालिम प्रदायक संस्थाहरु दर्ता गरेको उल्लेख गर्दै उनीहरुले अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ ले तोकेको मापदण्ड बमोजिमको भौतिक पूर्वाधारको अवस्था र नियमितरुपमा कक्षा सञ्चालन लगायतका शर्त गरेको नपाइएको विभागले बताएको छ ।
विभागले १५ दिनभित्र कार्यविधि बमोजिमका भौतिक पूर्वाधार पूरा गरी अनलाइनमार्फत विभागमा विवरण पठाउन पनि भनेको छ । अनलाइन प्रणालीमा विवरण नपठाउने संस्थालाई कानूनी कारबाही गरिने भन्दै विभागले अभिमुखीकरण तालिम प्रदायक संस्थाहरुको चाँडै नै अनलाइन प्रणालीबाट अनुगमन गरिने बताएको छ । विभागले विगत लामो समयदेखि अभिमुखीकरण प्रदान गर्ने संस्थाका सञ्चालकले कार्यविधि र निर्देशिका अनुसार तालिम सञ्चालन नगरेको दाबी गर्दै आएको छ ।
वैदेशिक रोजगार अभिमुखीकरण संस्थाका सम्बन्धमा गुनासो बढेको भन्दै विभागले केही समयअघि राजधानीमा रहेका ६ वटा अभिमुखीकरण तालिम प्रदायक संस्थामा अनुगमन गरेकोे थियोे । विभागले अनुगमनका लागि आफ्नो मोबाइल, ह्वाट्स एप र भाइबरबाट अभिमुखीकरण कक्षा सञ्चालन भइरहेको दृश्य देखाउन पटकपटक अनुरोध गर्दासमेत केही अभिमुखीकरण संस्थाका सञ्चालकहरुबाट विभिन्न कारण देखाई कक्षा सञ्चालनको दृश्य नदेखाउने, फोन कल रिसिभ नगर्ने जस्ता कार्य गरेर विभागलाई असहयोग गरी अनुगमनको कार्यलाई प्रभावित पार्ने गरेकोे गुनासो गर्दै आएको छ ।
विभागले अनुगमनको कार्यलाई प्रभावित पारेमा अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ बमोजिम कारबाही हुने समेत चेतावनी दिएको छ । कार्यविधिले दिएको निर्देशन पालना नगरेमा वा बिना तालिम वैदेशिक रोजगारमा जाने कामदारलाई तालिमको प्रमाणपत्र दिए सचेत गराउने, ६ महिनाका लागि संस्थाले तालिम सञ्चालन गर्न नपाउने गरी निलम्बन गर्ने र अन्तिममा अनुमतिपत्र रद्ध गर्न सक्ने अधिकार विभागलाई दिएको विभागले बताएको छ ।