ईपीएस कोरिया शाखाले दक्षिण कोरियामा पानीजहाज निर्माण क्षेत्रका लागि लिएको भाषा परीक्षामा ४ हजार ९८ जना नेपाली उत्तीर्ण भएका छन् । गत असोज १ देखि कात्तिक ७ गतेसम्म लिइएको पहिलो चरणको कोरियन भाषा परीक्षाको नतिजा सोमबार सार्वजनिक भएको हो । भाषा परीक्षा उत्तीर्ण हुनेमा ३ हजार ९ सय १ पुरुष र १ सय ९७ जना महिला रहेको शाखाले जानकारी दिएको छ ।
३५ हजार ४ सय ७८ जनाले परीक्षाका लागि आवेदन दिएको भएपनि करिब ३ हजार अनुपस्थित हुँदा ३२ हजार ५ सय ७ जना भाषा परीक्षामा सहभागी भएका थिए । दक्षिण कोरियाले पहिलो पटक पानीजहाज निर्माण कम्पनीका लागि ठूलो संख्यामा नेपाली कामदार लैजान लागेको हो । पहिलो चरणको कोरियन भाषा परीक्षा पास भएका परीक्षार्थीहरुको दोस्रो चरणको स्किल टेस्ट तथा कम्पिटेन्सी टेस्टको परीक्षा हुने शाखाले जनाएको छ ।
यसैबीच वैदेशिक रोजगार विभागले बेलायतका लागि छनोट भएका ७१ जना नर्सको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । नेपाली नर्सलाई रोजगारीका लागि बेलायतमा लैजान गत भदौमा दुई देशबीच सम्झौता भएको थियो । त्यसपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली नर्सलाई रोजगारीका लागि बेलायत पठाउने प्रक्रिया शुरु गरेको थियो ।
नेपाल र बेलायतबीच सम्पन्न द्विपक्षीय श्रम सम्झौताअनुसार श्रम मन्त्रालयले पहिलो चरणमा एक सय जना नर्सिङ स्टाफ बेलायत पठाउन दरखास्त आह्वान गरेको हो । कात्तिक २ गतेसम्म नेपाली नर्सले मन्त्रालयले तयार गरेको पोर्टलमा आवेदन दिएका थिए ।
परीक्षामा सहभागी हुन आईईएलटीएसमा न्यूनतम ७ अंक, कम्तीमा ३ वर्षको नर्सिङ कोर्स पीसीएल नर्सिङ वा बीएन सरहको शैक्षिक योग्यता हासिल गरी कम्तीमा २ वर्षको अनुभव तोकिएको थियो । छनोट भएकाहरुको ब्रिटिश काउन्सिलमा रोजगारदाताले अन्तर्वार्तामार्फत छनोट गर्नेछन् । तोकिएको मापदण्ड उच्चस्तरीय भएको र त्यसअनुसारका नर्सिङ जनशक्तिको नेपालमा कमी रहेको बताइएको छ । प्रारम्भिक सूचीमा छनोट भइ जानेहरुले बेलायतको नर्सिङ काउन्सिलको परीक्षा पनि दिनुपर्नेछ ।
छनोट हुने नर्सले शुरुवातमा मासिक करिब ४ लाख रुपैयाँ र बेलायतमा रजिस्ट्रर नर्समा दर्ता भइसकेपछि मासिक करिब ५ लाख तलब पाउनेछन् । करार अवधि ५ वर्ष हुनेछ ।