मलेसियामा विदेशी कामदार भर्ना अलमलको असर वैदेशिक रोजगारीमा उक्त मुलुक जाने नेपाली कामदारमा परेको छ । वैदेशिक रोजगारीका लागि मलेसिया जाने क्रम गत कात्तिकदेखि घट्न थालेको छ । उक्त क्रम वैशाख महिनासम्म यथावत रहेकोे छ । जेठ महिनामा विदेश जान श्रम स्वीकृति लिने कामदारको संख्या सार्वजनिक भइसकेको छैन ।
कात्तिक महिनाको तुलनामा वैशाख महिनामा रोजगारीका लागि मलेसिया जाने क्रम ५५ प्रतिशतभन्दा बढीले घटेको छ । गत कात्तिकमा २५ हजार ३ सय ४० नेपाली कामदार गएको मलेसियामा वैशाख महिनामा ११ हजार ३ सय १० जना मात्र संस्थागत अर्थात म्यानपावर कम्पनीमार्फत गएका छन् ।
मलेसियाले विदेशी कामदारको आवेदन र स्वीकृति प्रक्रिया गत चैत ६ गतेदेखि स्थगित गरेको छ । मलेसियाले गत मार्च १४ तारिखसम्म विभिन्न क्षेत्रका लागि ९ लाख ९५ हजार ३ सय ९६ जना विदेशी कामदारको रोजगारी कोटालाई मन्त्रालयले स्वीकृत गरेको भन्दै रोजगारी राहत योजना (पीकेपीपीए)मार्फत विदेशी कामदारको कोटा आवेदन र स्वीकृति अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको बताएको थियो ।
हाल मलेसियाले उत्पादन, निर्माण, वृक्षरोपण, कृषि र सेवा (रेस्टुरेन्ट मात्र) गरी पाँच क्षेत्रमा विदेशी कामदारको आवेदनहरू स्वीकृति स्थगन गरेको छ ।
मलेसियाका मानव संशाधन मन्त्री एम शिव कुमारले स्वीकृत कोटामा विदेशी कामदार मलेसिया प्रवेशपछि अवस्थाको मूल्यांकन गरी आवश्यकताअनुसार विदेशी श्रमिकको स्वीकृति खुलाउने बताएका थिए । तर मलेसियामा मन्त्री शिव कुमारमाथि नै त्यहाँको भ्रष्टाचार विरोधी छानबिन गर्ने निकाय एमएसीसीले आर्थिक अनियमितताको आशंकामा छानबिन गरिरहेको छ । उनका पाँच सहयोगी बर्खास्तीमा परेका छन् । तर विदेशी कामदार भर्ना प्रकरणको अनुसन्धानको विषय अझै सुल्झिएको छैन ।
मलेसियाको बीएन–एयर हितम पार्टीका एक सांसदले त्यहाँको संसद देवान राक्यातमा विदेशी कामदारको डिमाण्ड एप्रुभल अनियमितताको अनुसन्धानबारे जवाफ माग गर्दा दिइएको लिखित जवाफमा कानून तथा संस्थागत सुधार मन्त्री अजलिना ओथमानले विस्तृत विवरण नआउने भन्दै अनुसन्धान जारी रहेकोे जानकारी दिएकी छन् ।
मलेसियामा एमएसीसीको छानबिनपछि विदेशी कामदारको नयाँ एप्रुभल हुने अपेक्षा गरिएको छ । तर गत शुक्रबारको साप्ताहिक फेसबुक कार्यक्रममा क्वालालम्पुरस्थित नेपाली दूतावासका कर्मचारी प्रकाश गिरीले नयाँ कामदारको डिमाण्ड एप्रुभलको सूचना नआएको र त्यसबारेमा कुनै आंकलन गर्न नसकिने बताए । मलेसियामा नेपाली कामदार जाने क्रम रोकिए नेपाल आउने रेमिट्यान्समा उल्लेख्य कमी आउने छ ।
६ महिनाको संस्थागत श्रम स्वीकृति विवरण
कात्तिक : २५,३४०
मंसिर : २०,३८८
पुस : १६,७२९
माघ : १६,६२९
फागुन : १६,००७
चैत : १२,११३
वैशाख : ११,३१०