वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने विभिन्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिन्छु भन्दै १० लाख रुपैयाँ ठगेको उजुरीका आधारमा प्रहरीले रोल्पा गंगादेव गाउँपालिका–३ घर भइ काठमाडौं महानगरपालिका–२६ बस्ने ३९ वर्षीय निमराज डाँगीलाई पक्राउ गरेको छ ।
उनले जोनसन श्रेष्ठलाई पोर्चुगल पठाइदिन्छु भन्दै १० लाख रुपैयाँ ठगी गरेको वैदेशिक रोजगार विभागमा उजुरी परेको थियोे । सोही उजुरीको आधारमा डाँगीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसअघि प्रहरीले सागर लामिछानेलगायतका व्यक्तिलाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने र प्रतिव्यक्ति १५ लाख रुपैयाँ लाग्छ भनेर सात लाख पाँच हजार रुपैयाँ लिइ सम्पर्कविहीन भएका बुद्ध पञ्चकोटीलाई पक्राउ गरेको थियो ।
उता जमाल अहमद फकिरलाई साउदी अरब पठाइदिन्छु भन्दै ठगी गरेको उजुरीका आधारमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रतापपुर गाउँपालिका वडा नं. ७ घर भइ हाल काठमाडौंको सिनामंगल बस्ने ५८ वर्षीय इब्राहिम मियालाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले बताएको छ ।