श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले नेपालका लागि रोमानियाकी राजदूत डेनिएला मारियाना सेजोनोभ टेनेसँग रोमानिया जाने नेपाली कामदारलाई नेपालमा नै भिसा उपलब्ध गराउन आग्रह गरेका छन् ।
मन्त्री अर्यालले मंगलबार मन्त्रालयमा टेनेसँग गरेको भेटवार्तामा रोमानिया र नेपालबीच नेपाली कामदारलगायत आपसी हितका विषयमा छलफल भएको मन्त्री अर्यालको निजी सचिवालयले जनाएको छ । छलफलका क्रममा श्रममन्त्री अर्यालले रोमानिया र नेपाल सरकारबीच श्रमसम्बन्धी समझदारीसमेत भइसकेको र भिसाका लागि भारत जानु पर्दा नेपालीहरुलाई आर्थिक व्ययभार बढ्न जाने हुँदा नेपालबाट नै रोमानियाको भिसा प्रदान गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।
त्यस्तै श्रम सचिव घनश्याम उपाध्यायले नेपाली सवारी चालक अनुमतिपत्रलाई रोमानियामा समेत मान्यता दिन अनुरोध गरेका छन् । उनले रोमानियामा माग हुने रोजगारका क्षेत्रहरु अनुकूल हुने गरी नेपाली श्रमिकको सीप विकासका लागि सहकार्य गर्नसमेत आग्रह गरे ।
राजदूत सेजोनोभले रोमानियाका रोजगारदाताले नेपाली श्रमिकलाई रुचाएको र रोमानिया सरकारले पनि सहज र सरल प्रक्रियाबाट नेपाली श्रमिक भित्र्याउन चाहेको बताइन् । साथै रोमानियामा नर्सिङ, निर्माण, हस्पिटालिटीलगायतका क्षेत्रमा नेपालीहरुको अत्यधिक माग रहेकोसमेत उनले बताइन् ।
रोमानियामा करिब १० हजार नेपाली श्रमिक छन् । राजदूत सेजोनोभका अनुसार रोमानियाले गत जनवरीदेखि हालसम्म नेपाली कामदारका लागि ७ हजार ८ सय भिसा जारी गरेको छ । गत वर्ष ११ हजार ५ सय नेपाली श्रमिक रोमानिया पुगेको उनले बताइन् । आगामी दिनमा यो संख्या झनै बढ्ने उनले दाबी गरिन् ।
नेपाल र रोमानिया सरकारबीच सन् १९६८ को अप्रिल २० मा कूटनीति सम्बन्ध स्थापित भएको हो । नेपाल र रोमानिया सरकारबीच सन् २०२३ को अक्टोबर ६ मा श्रमसम्बन्धी समझदारी भएको हो ।