वैदेशिक रोजगार क्षेत्रको अग्रणी संस्था आकर्षण इन्टरनेसनल प्रा. लि.ले अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका अवसरमा जनचेतनामूलक प्रभातफेरी सम्पन्न गरेको छ । उक्त म्यानपावर कम्पनीका अध्यक्ष विष्णु के. सी. तथा म्यानेजिङ डाइरेक्टर मिलन थापाको नेतृत्वमा आकर्षण भवन शम्भुमार्गबाट सुरु भएको प्रभातफेरीमा कम्पनीका कर्मचारी, वैदेशिक रोजगारीबाट फर्केका कामदार सहभागी थिए ।
सहभागीहरूले आप्रवासी र आश्रित परिवारको संरक्षण गरौँ, सामाजिक सुरक्षा कोषमा योगदान, आफू र आश्रित परिवारको कल्याण, आप्रवासी श्रमिकको स्वास्थ्य र सामाजिक सुरक्षाको आधार : व्यवस्थित र सम्मानित वैदेशिक रोजगार जस्ता प्लेकार्ड बोकेका थिए ।
राजधानीको गौशाला चोकमा भएको प्रभातफेरी कार्यक्रमलाई समापन गर्दै अध्यक्ष के. सी.ले आफ्नो कम्पनीले अन्तर्राष्ट्रिय श्रम संगठन र जिम्मेवार व्यावसायिक संघ(आरबीए)लगायत न्यायोचित भर्नाको सिद्धान्त र आचारसंहिताको पूर्ण रूपले परिपालना गरेकाले आप्रवासी श्रमिकको सम्मान र अभिवृद्धिको जनचेतनाका लागि अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका अवसरमा जनचेतनामूलक प्रभातफेरी कार्यक्रम आयोजना गरेको बताए ।
वैदेशिक रोजगारमा गुणस्तरीय व्यवस्थापन प्रणालीको पालना गर्दै निष्पक्षता, पारदर्शिता, सामाजिक जिम्मेवारी र जबाफदेहितामा आधारित रहेर हालसम्म ३० हजारभन्दा बढी नेपालीलाई वैदेशिक रोजगारीमा पठाएको जानकारी दिँदै अध्यक्ष के. सी.ले भविष्यमा पनि यी विषयलाई उच्च प्राथमिकतामा राखेर परिपालना गर्ने प्रतिबद्वता पनि जनाए ।
कम्पनीका प्रवन्ध निर्देशक थापाले आकर्षण इन्टरनेटसनलले वैदेशिक रोजगारीमा जाने कामदारको नैतिक र पारदर्शी भर्नाको अन्तर्राष्ट्रिय मापदण्डहरूको पालनासहित शून्य लागतमा कामदार पठाउने प्रक्रियालाई पालना गरी यसलाई अभियानका रूपमा अगाडि बढाउने मान्यतामा रहेको बताए । सो अवसरमा आकर्षण इन्टरनेसनलबाट तयार पारिएका पर्चाहरू पनि सर्वसाधारणलाई वितरण गरिएको थियो । ती पर्चाहरू सर्वसाधारले अभिरुचिपूर्वक ग्रहण गरेका थिए ।