उत्पादनमूलकतर्फको पहिलो चरणको ईपीएस भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । परीक्षामा सहभागीमध्ये ६ हजार ३ सय २१ जना परीक्षार्थी उत्तीर्ण भएको ईपीएस शाखा ग्वार्को ललितपुरले जनाएको छ । गत फागुन ७ गतेबाट चैत २४ गतेसम्म भएको परीक्षामा सहभागी ४० हजार ५ सय ८० जनामध्ये ६ हजार ३ सय २१ जनामात्र उत्तीर्ण भएका हुन् ।
उत्तीर्ण परीक्षार्थीले अब ‘स्किल र कम्पिटेन्सी टेस्ट’ नामका सीप परीक्षा दिनुपर्नेछ । सिप परीक्षण आगामी ९ वैशाखदेखि १५ वैशाखसम्म सञ्चालन हुनेछ । ती दुवै परीक्षाामा पास भएपछि मात्रै उनीहरु कोरिया जान पाउने नेपाली कामदारको सूची (रोस्टर)मा सूचीकृत हुनेछन् । उत्पादनमूलकतर्फको दोस्रो चरणको परीक्षा २०८१ वैशाख ३१ देखि साउन १६ गतेसम्म र तेस्रो चरणको परीक्षा २०८१ कात्तिक २६ देखि पुस २ गतेसम्म सञ्चालन हुने ईपीएस ग्वार्काेले जनाएको छ ।