वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले स्याङ्जाको बिरूवा गाउँपालिका–१ घर भइ काठमाडौं महानगरपालिका–३१ बानेश्वर बस्ने ५० वर्षीया कमला कुमारी केसी, बडिगाड गाउँपालिका–९ बाग्लुङ घर भइ भक्तपुर सुर्यविनायक नगरपालिका–२ बालकोट बस्ने २२ वर्षीया सीता बुढा र मेचीनगर नगरपालिका–१० झापा घर भइ काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्क बस्ने २६ वर्षीय मनिष खड्कालाई पक्राउ गरेको हो ।
पक्राउ परेकामध्ये केसीले क्रोएसिया पठाइदिन्छु भन्दै चार जनाबाट आठ लाख २५ हजार, बुढाले बेलायत पठाइदिन्छु भन्दै एक जनाबाट दुई लाख र खड्काले क्रोएसिया पठाइदिन्छु भन्दै एक जनाबाट दुई लाख २५ हजार रूपैयाँ लिइ सम्पर्कविहीन भएका थिए । पीडितहरुले यसबारे उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।