काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जब्स ग्लोबल डट कम इम्प्लोइमेन्ट सर्भिस प्रा.लि.का सञ्चालक चन्द्रसिंह अदैलाई पाँच लाख एक रूपैयाँ प्रदान गरेको छ ।
बिहीबार काठमाडौंको थापाथलीस्थित नर्भिक हस्पिटलमा तीन हप्तादेखि उपचाररत अदैलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र संघका अध्यक्ष राजेन्द्र भण्डारीले संयुक्तरूपमा उक्त रकमको चेक हस्तान्तरण गरे ।
मधुमेह, उच्च रक्तचापका बिरामी व्यवसायी अदै पित्त थैलीमा पत्थरी र मिर्गौला समस्याबाट एकैसाथ ग्रस्त भएपछि विगत तीन हप्तादेखि नर्भिक हस्पिटलमा उपचाररत छन् ।
संघका अध्यक्ष भण्डारीले व्यवसायीको समाजिक उत्तरदायित्व अन्तर्गत उपचाररत भण्डारीलाई सहयोग प्रदान गरिएको बताए । सो अवसरमा अध्यक्ष भण्डारीले व्यवसायी भलाई कोषमार्फत समस्यामा पर्ने व्यवसायी तथा वैदेशिक रोजगारमा गएका कामदारलाई राहत तथा सहयोग गर्ने व्यवस्था गरिनुपर्ने भन्दै मन्त्री भण्डारीको ध्यानाकर्षण गराए । मन्त्री भण्डारीले भलाई कोषलाई व्यवहारिक बनाउन तत्पर रहेको प्रतिवद्धता जनाए ।
संघले आफ्ना तृतीय उपाध्यक्ष रोशन कटुवालको संयोजकत्वमा सामाजिक उत्तरदायित्व समिति गठन गरी उक्त रकम संकलन गरेको हो । संघले सम्पूर्ण सहयोगी मनहरुलाई विशेष धन्यवाद ज्ञापन गरेको छ । सहयोग गर्न बाँकी व्यवसायीहरु भने क्रमिकरुपमा अघि बढ्ने महासचिव मेघनाथ भुर्तेलले बताए ।
संघका द्वितीय उपाध्यक्ष सञ्जु गुरूङले सामाजिक उत्तरदायित्व अन्तर्गत संघले विशेष अभियान नै सञ्चालन गर्ने बताए ।
सहयोग हस्तान्तरण कार्यक्रममा संघ अध्यक्ष भण्डारी, द्वितीय उपाध्यक्ष गुरूङ, तृतीय उपाध्यक्ष कटुवाल, महासचिव भुर्तेल, सचिव कर्णराज कटुवाललगायतको उपस्थिति रहेको थियो ।