‘श्रमाधान रोजगार मेला’ गण्डकी प्रदेशको पोखरा पुगेको छ । कोशी प्रदेशको विराटनगर र मधेश प्रदेशको जनकपुरधामपछि सोमबारबाट गण्डकी प्रदेशको पोखरामा श्रमाधान रोजगार मेला शुरु हुन लागेको हो । मेला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा पोखराको पोखरा इभेन्ट सेन्टरमा हुन लागेको हो ।
मेलाको संयोजन होटल संघ नेपाल (हान) र सहआयोजकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघलगायतका सरोकारवाला संस्थाहरु रहेका छन् ।
मेलाबारे जानकारी दिन श्रम तथा रोजगार कार्यालय पोखरामा आयोजित पत्रकार सम्मेलनमा श्रम मन्त्रालयका उप सचिव शारदा भण्डारीले मेलाको तयारी अन्तिम चरणमा पुगेको बताइन् ।
आन्तरिक रोजगारी प्रवद्र्धन र वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने, श्रम र रोजगारको क्षेत्रमा रहेका बहुआयामिक समस्याहरुलाई एकद्वार प्रणालीबाट सम्बोधन गर्दै रोजगारीका लागि अनुकूल वातावरण सिर्जना गर्नु मेलाको उद्देश्य रहेको उनको भनाइ छ । मेलामा रोजगार दिने र रोजगारी खोज्नेहरुबीच प्रत्यक्ष भेट हुने र रोजगारी सिर्जनाको वातावरण उपलब्ध हुने उपसचिव भण्डारीले बताइन् ।
मेलामा बायोडाटा निर्माण सिकाइ, रोजगारदाता, वैदेशिक रोजगार तथा कल सेन्टर बुथलगायतका कम्तीमा ३५ वटा स्टल तथा बुथहरु हुने बताइएको छ । श्रमाधान रोजगारको संयोजकसमेत रहेकी उपसचिव भण्डारीले मेलाले बाध्यात्मक वैदेशिक रोजगारी कम गर्न सहयोग पुग्ने बताइन् । ‘मेलाले आजको भोलि नै देशभित्रै रोजगारी दिन्छ भन्ने होइन । यो शुरुवात हो । यसबाट बाध्यताले वैदेशिक रोजगारीमा जाने नेपाली दाजुभाइको बाध्यता विस्तारै कम गर्ने सरकारको उद्देश्य हो । यो शुरुवात मात्रै हो,’ भण्डारीले भनिन् ।
उता आइतबार सम्पन्न मधेश प्रदेश श्रमाधान रोजगार मेलामा करिब ६ हजारले अवलोकन गरेका छन् । दुई दिनको अवधिमा रोजगारीको खोजीमा मेला स्थल पुगेका करिब २ हजार युवाले रोजगारीका लागि आवेदन दिएका छन् । मेलामा रोजगारीका लागि होटलतर्फ १०५ जना, अटोमोबाइल क्षेत्रमा ३५, बैंकमा २७ र सेक्युरिटगार्डतर्फ ८० जना गरी जम्मा २ सय ४७ जना आवेदकहरुलाई अन्तर्वार्ताका लागि बोलाइएको छ ।
देशका सातै प्रदेशमा हुने श्रमाधान रोजगार मेला बागमती प्रदेशको ललितपुरमा जेठ ३० गते समापन हुनेछ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ र होटल संघ नेपाल मेलाको सहआयोजकका रुपमा रहेका छन् । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र (सामी) र वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिको पुनःएकीकरण परियोजना (रेमी)ले पनि मेलामा विशेष सहयोग गरेका छन् ।