माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले कोभिड–१९ को बेला श्रीलंकाबाट उद्धार गरिएका ९० जना पीडित महिलामध्ये एक जनाले बेचबिखनमा संलग्नको नाम खुलाएको बताएकी छन् । उनले ती आरोपित व्यक्तिलाई प्रहरी अनुसन्धानको दायरा ल्याइएको बताइन् ।
कठमाडौँमा मंगलबार मिथिला संस्कृति समाजले राष्ट्रिय नाचघरमा आयोजना गरेको कार्यक्रममा कोइरालाले एक वर्षपछि एक जना पीडितले अपराधमा संलग्नको नाम खुलाएको जानकारी दिइन् । ‘एक जना पीडितले कसले बेचेको र कसरी श्रीलंका पु¥याएको नामसहित मुख खोल्नुभएको छ,’ उनले भनिन्, ‘प्रहरीले यसैको आधारमा दोषीलाई अनुसन्धानको दायरामा ल्याइसकेको छ ।’
उनले बेचबिखनमा परेका पीडितले सजिलै अपराधीको नाम खुलाउन नमान्ने बताइन् । जसले गर्दा पीडितलाई न्याय दिलाउन गाह्रो हुने गरेको छ । त्यस्तै, पछिल्लो समय देश बाहिर मात्रै होइन, देशभित्रै छोरीचेलीको किनबेच भइरहेको उनले खुलाइन् । मंगलबार काठमाडौंको एक ‘स्पा’बाट १४ जना किशोरीको उद्धार गरिएको उनले जानकारी दिइन् ।
खासगरी रात्रिकालीन मनोरञ्जन क्षेत्रमा १२ देखि १८ वर्ष उमेरसम्मका बालिकाको शारीरिक एवम् मानसिक बेचबिखन भइरहेको कोइरालाको भनाइ थियो । ‘विदेशमा बेचिन त छँदैछ, छोरीहरु देशभित्रै बेचिएका छन्,’ उनले भनिन्, ‘कसरी रोक्ने हो ? चिन्ताजनकस्थिति छ । न्याय टर्च बालेर खोज्नुपर्ने स्थिति छ ।’