गैरआवसीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समन्वय समिति अल कासिम, साउदी अरवले समस्यामा परेका ३० जना नेपाली श्रमिकलाई एक्जिट भिसा दिलाएर नेपाल फिर्ता पठाउन सफल भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्षअघि सगरमाथा मेनपावर, यात्रा, ओम ओभर्सिज र प्रतिज्ञा कन्सल्टेन्सीमार्फत साउदी आएका ६० जनामध्ये ३० जना श्रमिकलाई सफलतापूर्वक फिर्ता पठाइएको एनआरएनए अल कसिमले जनाएको छ ।
उनीहरूलाई साउदी अरेबियाका अल हदवा, अल सुल्तान, र अल समाहा म्यानपावर सप्लाई कम्पनीमार्फत दमाम, रियाद, अल कासिममालगायत साउदीका विभिन्न क्षेत्रहरूमा पठाइएको थियो । तर कम्पनीहरूले कामको अनुबन्धपत्र (अकमा ) नबनाइ उनीहरूलाई कामबाट निकालेर अलपत्र परेपछि पीडित श्रमिकहरूले गैर आवासीय नेपाली संघ अल कासिमलाई उद्धारको लागि सहयोगको अनुरोध गरेका थिए ।
पीडितहरूको समस्या बुझ्न एनआरएनए आइसिसीका सदस्य तथा नेपाली राजदूतावास रियादका अल कासिम प्रतिनिधि विशाल श्रेष्ठ र एनआरएनआरसीसी अल कासिमका प्रवक्ता अलि उर्सिन मियाँले स्थलगत निरीक्षण गरेका थिए । निरीक्षणपछि उनले राजदूतावास रियादसँग समन्वय गरी श्रमिकहरूको एक्जिट भिसाको प्रक्रिया अघि बढाएका थिए ।