काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी २९ चैतमा हुने निर्वाचनका लागि दुवै प्यानलले अन्तिम चुनावी सभामार्फत आ–आफ्नो पक्षमा मतदान गर्न अपिल गरेका छन् । २१ सदस्यीय कार्यसमितिमा अध्यक्षसहित ७ पदाधिकारी र १० सदस्य गरी १७ पदका लागि निर्वाचन हुने छ । त्यसमा २ प्यानल र स्वतन्त्र गरी ३६ जना उम्मेदवार सार्वजनिक भएका छन् ।
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको एक पक्ष र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनबीचको तालमेलमा संयुक्त व्यवसायी समूह बनेको छ ।
उक्त प्यानलको नेतृत्व संघका पूर्वमहासचिव तथा मञ्चका पूर्वअध्यक्ष एचआर इन्टरनेसनल सर्भिस प्रा. लि.का संचालक नरेश गेलालले गरेका छन् ।
त्यस्तै, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चसँगको तालमेलका आधारमा बनेको प्यानलको अध्यक्षमा संघका पूर्व द्वितीय उपाध्यक्ष तथा गुरुङ म्यानेजमेन्ट प्रा. लि.का संचालक भुवनसिंह गुरुङ छन् ।
बुधबार गेलाल प्यानलले बसुन्धरा पार्टी प्यालेस र गुरुङ प्यानलले यती इभेन्ट्समा अन्तिम चुनावी सभा गरे । कार्यक्रमस्थल करिब डेढ मिनेटको दुरीमा रहेका कारण मतदाता व्यवसायी दुवै प्यानलको प्रतिबद्धता र एजेन्डा सुन्न दुवैतिर ओहोरदोहोर गरिरहेका देखिन्थे ।
दुवैको कार्यक्रममा कलाकारहरूले सांस्कृतिक प्रस्तुति राखेका थिए । चुनावी प्रतिस्पर्धामा रहेका दुवै प्यानलले आफ्नो पक्षमा जित सुनिश्चित भएको दाबी गरेका थिए । तर, पाका पुस्ताका एक अनुभवी व्यवसायी आफूसहित करिब १५ देखि २० प्रतिशत मतदाता अझैसम्म पनि कता मतदान गर्ने भनेर अन्योल र अनिर्णित अवस्थामा रहेका टिप्पणी गरे । उनले अनिर्णित अवस्थामा रहेका मतदाताले अन्तिम परिणामलाई प्रभावित गर्न सक्ने जिकिर गरे ।
प्यानलबाहिर रहेर सचिवमा उम्मेदवारी दिएका व्यवसायी ईश्वर सापकोटा र प्रथम उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका अख्तर हुसेनले पनि व्यवसायीको हितमा काम गर्ने भन्दै मत मागिरहेको बताएका छन् ।
गुरुङ प्यानलका लागि नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य तथा पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव, सांसद राजन दाहाल, नेपाली कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महर, सांसद मीना गौतम, नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली ‘स्नेही’, केन्द्रीय सदस्य अब्दुल सत्तार, वरिष्ठ व्यवसायी ललितपुर वैदेशिक रोजगार व्यवसायी समाजका अध्यक्ष नवराज केसी, सामाखुसी एकता समितिका अध्यक्ष हरिबहादुर पाण्डे क्षेत्री, वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका अध्यक्ष धनलाल जैशीलगायतको उपस्थिति थियोे । उनीहरूले गुरुङ प्यानललाई मत दिएर जिताउन आग्रह गरे ।
गोपालमान श्रेष्ठ र प्रकाश रसाइलीले भुवनसिंह गुरुङको प्यानल नै आधिकारिक रहेको बताए ।
सो प्यानलको प्रथम उपाध्यक्षमा नोकरी नेपाल प्रा. लि.का संचालक नरेन्द्रप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा अलर्ट ओभरसिज प्रा. लि.का संचालक देवकुमार खोखाली, तृतीय उपाध्यक्षमा इम्प्लोइमेन्ट क्रियसन सर्भिस प्रा. लि.का संचालक हर्कबहादुर लिम्बू, महासचिवमा ग्लोबल राइजिङ प्लेसमेन्ट प्रा. लि.का संचालक महेशकुमार बस्नेत, सचिवमा आकृति रिक्रुटिङ प्रा. लि.का संचालक कुन्छा दोर्जे दिम्दोङ र कोषाध्यक्षमा शुभ हारती म्यानपावर प्रा. लि.का संचालक विक्रम श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
कार्यसमिति सदस्यमा इम्पेरियल ओभरसिज प्रा. लि.की संचालक विद्यालक्ष्मी बज्राचार्य, राज ग्रुप अफ कम्पनीका संचालक राज लामा तामाङ, हिमालयन भ्याली नेपाल प्रा. लि.का संचालक देवीप्रसाद गिरी, ब्रदर इन्टरनेसनल इम्प्लोइमेन्ट प्रा. लि.का संचालक दीपककुमार राय, रसुवा ओभरसिज प्रा. लि.का संचालक सुवर्ण लामा, सेक्युर नेपाल जब प्रा. लि.का संचालक सुमनराज पाण्डे, सिल्भर कर्नर ओभरसिज प्रा. लि.का कैलाश पाठक, युनिभर्स एच. आर. सोलुसन प्रा. लि.का संचालक भरत सापकोटा, रिजा ओभरसिज प्रा. लि.की संचालक रेखा शर्मा, इगल मेनपावर कन्सल्टेन्ट प्रा. लि.का संचालक कृष्ण ढकालले उम्मेदवारी दिएका छन् ।
अध्यक्षका उम्मेदवार गुरुङले आफ्नो प्यानल निर्वाचित हुने सुनिश्चित बनेको भन्दै संख्या सय, मागपत्र प्रमाणीकरणलगायतका समस्याको यथाशीघ्र समाधान खोज्ने बताए । उनले संघमा कार्यरत रहेकोे अवस्थादेखि हालसम्म सधैं सिन्डिकेटको विरोधमा उभिएको र सिन्डिकेटविरोधी पहिचान बनाएकाले आफ्नो नाम सिन्डिकेटसँग जोडर प्रचारप्रसार गर्नु तथ्य र आधारहीन रहेको बताए ।
प्यानलका अन्य उम्मेदवारहरूले पनि आफ्नो परिचय र प्रतिबद्धता राखेका थिए । एसोसिएसनका अध्यक्ष दीपक थापाको सभापतित्वमा भएको कार्यक्रम एसोसिएसनका कार्यबाहक महासचिव तुलसी पुरीले संचालन गरेका थिए ।
गेलाल प्यानलको अन्तिम चुनावी सभालाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्ताैला, नेपाली कांग्रेसका नेताहरू गुरुराज घिमिरे र सीता देवकोटालगायतले सम्बोधन गरेका थिए ।
एमाले सचेतक बर्ताैलाले केही नेपाललाई संशोधन गर्न बनेको विधेयक, वैदेशिक रोजगार ऐनका दफाहरूमा गरिएको संशोधन र खासगरी व्यवसायीलाई जनही ५० हजार रुपैयाँ जरिमाना गर्न गरिएको प्रस्तावबारे जानकारी दिए । उनले वैदेशिक रोजगारबारे परेका सबै उजुरीका आधारमा नभई ठगीमा परेका कामदारको संख्या यकिन भएपछि सोही संख्याका आधारमा जनही ५० हजार रुपैयाँ जरिमाना हुने प्रबन्ध विधेयकमा रहेकाले व्यवसायीहरू तर्सिनु नपर्ने र त्यसमा पनि पुनर्विचार हुन सक्ने जानकारी दिए ।
अध्यक्षका उम्मेदवार गेलालले आफ्नो नेतृत्वको प्यानल सुधार र समन्वयको पक्षपाती रहेको तर अर्को प्यानल विभिन्न सिन्डिकेटधारीहरूबाट घेरिएको बताए । संघको भवन खरिद, संघमा महिला प्रतिनिधित्वको सुनिश्चितता जस्ता विषयमा अर्को प्यानल समर्थक व्यवसायी गैरजिम्मेवार देखिएको उनको भनाइ थियोे ।
गेलाल प्यानलको प्रथम उपाध्यक्षमा एलायन्स ह्युमन रिसोर्स प्रा. लि.का संचालक संघका पूर्वमहासचिव सुजितकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा इम्प्लोइमेन्ट लिंक नेपाल प्रा. लि.का संचालक मधुकर रिजाल, तृतीय उपाध्यक्षमा न्यु अल्फा एचआर प्रा. लि.का संचालक बैकुण्ठ पौडेल वैभव, महासचिवमा डाइनामिक स्टाफिङ सोलुसन प्रा. लि.का संचालक कर्णराज कटुवाल, सचिवमा कन्फिडेन्ट इन्टरनेसनल म्यानपावर प्रा. लि.का संचालक अनिल बोगटी र कोषाध्यक्षमा कालिञ्चोक एचआर प्रा. लि.की संचालक धनु सिँजालीले उम्मेदवारी दिएका छन् ।
कार्यसमिति सदस्यका उम्मेदवारहरूमा माउन्टेन ग्रुप प्रा. लि.का संचालक देउमान नेम्बाङ, ग्रोथ प्रोसेस इन्टरनेसनल इम्प्लोइमेन्ट प्रा. लि.का संचालक राजेन्द्र बस्नेत, उज्यालो ओभरसिज प्रा. लि.का संचालक चन्द्र लिम्बू, विनर एचआर सोलुसन प्रा. लि.की संचालक हिमा गुरुङ, रियो ओभरसिज प्रा. लि.की संचालका रमा खड्का, गल्फ इम्पायर ओभरसिज प्रा. लि.का संचालक दिनेश बस्नेत, आयुश ओभरसिज प्रा. लि.का कामेश्वर साह राहुल, सिगल ओभरसिज प्रा. लि. संचालक छत्र बस्नेत, डेस्टिनी ह्युमन रिसोर्स प्रा. लि.का संचालक युवराज देवकोटा, गल्फ एसिया म्यानपावर प्रा. लि.का संचालक राजेश यादवले उम्मेदवारी दिएका छन् ।
कार्यक्रम निर्वाचन परिचालन समिति संयोजक सरोज पोखरेलको सभापतित्वमा भएको थियोे भने संघका प्रथम उपाध्यक्ष डिकबहादुर खत्री ‘कुमार’ले संचालन गरेका थिए ।