नेपाल वैदेशिक रोजगार व्यवसायी संघको साधारण सभा र निर्वाचन पुस ८ गते नै गर्ने तयारी भएको छ । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनमा आवद्ध केही व्यवसायीहरुले केही समयका लागि संघको साधारण सभा र निर्वाचन सार्नुपर्ने माग गरेको भएपनि निर्वाचन समितिले सोमबारदेखि निर्वाचन कार्यक्रम प्रकाशित गरी पुस ८ गते नै निर्वाचन गर्ने तयारी गरेको छ ।
आइतबार साधारण सभा र निर्वाचनको विषयमा कानूनी सल्लाहकार तथा संघलाई छाता संस्था मान्ने राजनीतिक, जातीय तथा भेगीय संस्थाका प्रतिनिधिहरुसँगको छलफलमा पुस ८ गते नै साधारण सभा र नयाँ कार्यसमितिको निर्वाचन गर्ने निष्कर्ष निकालेको थियो । हाल ८ सय ७७ व्यवसायी रहेपनि मंसिर २९ गतेसम्म ३ सय ७९ म्यानपावर कम्पनीले मात्रै प्रतिनिधि पठाएका छन् । निर्वाचन समितिले मंगलबार उक्त सूची नामावलीका रुपमा सार्वजनिक गर्ने बताएको छ ।
तोकिएको समयमा निर्वाचन गर्ने वा सार्ने विषयमा व्यवसायीका आ–आफ्ना तर्क र अडान रहेपनि संघको निर्वाचनका लागि उम्मेदवार छनोटको आन्तरिक गृहकार्य भने भइरहेको छ । एशोसिएसनले सोमबार पार्टीका प्रतिनिधि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व श्रममन्त्री रमेश लेखकको उपस्थितिमा संघको निर्वाचनको उम्मेदवारी र अन्य संगठनसँगको तालमेलबारे छलफल गरेको छ । आम वैदेशिक रोजगार व्यवसायीको सहभागितालाई सुनिश्चित गरेर नेतृत्वको चुनावमा जान केही समय संघको निर्वाचनको मिति सार्नु उपयुक्तत हुने विषयमा छलफल केन्द्रित भएको सहभागी एक व्यवसायीले बताएका छन् ।
संघको आगामी निर्वाचनका लागि एशासिएसनको तर्फबाट एशोसिएन अध्यक्ष कुमुद खनाल, निवर्तमान प्रथम उपाध्यक्ष कमलदेव मल्ल, पूर्व द्वितीय उपाध्यक्ष भुवनसिं गुरुङ, निवर्तमान महासचिव सुजितकुमार श्रेष्ठले आ–आफ्नो पक्षमा लविङ गरिरहेका छन् । त्यसमा अध्यक्ष खनाल र पूर्व द्वितीय उपाध्यक्ष गुरुङले आफ्नोतर्फबाट जोडबल गरिरहेको बताइएको छ । अध्यक्ष टुंगो लागे पछि अध्यक्षका आकांक्षीहरुलाई व्यवस्थापन गर्दै अन्य पदाधिकारीमा उम्मेदवार बनाउने सोच बनेको बताइएको छ ।
एशोसिएसनका तर्फबाट किशोर केसी प्रथम उपाध्यक्ष, भवानी निरौला, मेघनाथ भुर्तेलले महासचिव र सचिवमा कर्ण कटुवाल लगायतले दाबी गरिरहेको बताइएको छ । केही व्यवसायी निर्वाचन हुने सुनिश्चित भए मात्रै उम्मेदवारी दिने योजना बनाएर बसेको बताइएको छ ।
उता प्रगतिशील मञ्चले सबैलाई मिलाउने प्रयास गरिरहेको अध्यक्ष राजेन्द्र भण्डारीले मध्यान्हलाई बताए । तराई मधेस, स्वतन्त्र व्यवसायी, विभिन्न घटकसंस्था, अग्रज व्यवसायी सबैसँग घनिभूत छलफल भइरहेको भन्दै अध्यक्ष भण्डारीले उम्मेदवारको सूची मंगलबार तयार हुने बताए ।
वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका महासचिव कुन्छा दोर्जी दिमदोङले विगतमा पनि एक खालको गठबन्धनको स्वरुप तयार गरिएको र सम्मानजनक प्रतिनिधित्वको आधारमा सोही गठबन्धन चुनावमा जानुपर्ने बताए ।
एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन नेपालले गठबन्धनको अवधारणासहित उम्मेदवार प्रस्ताव गरेको छ । संगठनको निर्वाचन परिचालन समितिका संयोजक कमल सापकोटाले उक्त संगठनले अध्यक्षमा दाबी नगरी अन्य पदमा तालमेल गरी उम्मेदवार उठाउनु पर्ने अवधारणा ल्याएको बताए ।
संगठनले प्रथम उपाध्यक्षमा इन्टरनेशनल म्यानपावर प्रा.लि.का वाईबि रा, द्वितीय उपाध्यक्षमा जब स्पोर्ट प्रा.लि.का अर्जुन सापकोटा, तृतीय उपाध्यक्षमा इलान इन्टरनेशनल प्रा.लि.का चन्द्रजंग पाण्डे र महासचिवमा इम्प्लोइमेन्ट प्रा.लि.का मधुकर रिजाल र माउन्ट कञ्चन इन्टरनेशनल प्रा.लि.का सुरज घुण्डे गुरुङ मध्ये एक जनालाई उम्मेदवार बनाउन चाहेको छ । माथिल्ला पदहरुमा अन्य ब्यबसायीहरुपनि आका‘क्षी रहेको सापकोटाले बताए ।
त्यसैगरी सचिवमा पर्फेक्ट डेष्टिनेसन प्रा.लि.का मोहन स्याङ्वा र कन्फिडेन्ट इन्टरनेशनल प्रा.लि.का अनिल बोगटी मध्ये एक, कोषाध्यक्षमा आसिन ओभरसिज प्रा.लि.की सरस्वती सुवेदी र मिथिला ओभरसिज प्रा.लि.की अञ्नुला कुमारी यादव मध्ये एक उम्मेदवार हुने सापकोटाले बताए ।
संगठनका तर्फबाट सदस्यमा अजम्बरी ओभरसिज प्रा.लि.का टक्कर पाख्रिन, अनमोल ओभरसिज प्रा.लि.का निरज ज्ञवाली, नेपाल एच.आर सोलुसन प्रा.लि.का ब्रम्हदेव यादव, शेरमान ग्लोबल म्यानेजमेन्ट कन्सल्ट्यान्ट प्रा.लि.का गणेश कुँवर, आयुष ओभरसिज प्रा.लि.का कामेश्वर साह (राहुल) शिवम् इन्टरनेशनल म्यानपावर प्रा.लि.का शिव बहादुर कुँवर, फ्युचर लिंक म्यानपावर प्रा.लि.का फिरोज खान, पर्सा ओभरसिज प्रा.लि.का अनन्त शर्मा, स्यारोन म्यानपावर प्रा.लि का सरोन कुसवाह र एसआर ग्रुप नेपाल प्रा.लि.का राधामोहन प्रसाद जैसवालको नाम सार्वजनिक गरेकोे छ ।